बुलेट प्रुफ गाडी भएन भने राजिव गान्धी काठमाण्डाै जाँदैनन्

 रमेशनाथ पाण्डेको अनुभव
तेश्रो सार्क शिखर सम्मेलनको तयारी पूरा हुने अवस्थामा थियो । मंगल सदनमा बैठक बसिरहेको थियो । प्रगति विवरणहरू पेस भए, आवश्यक निर्णय भए । अचानक बैठकलाई स्तब्ध पार्ने सूचना परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले दिनुभयो । भारतले आफना प्रधानमन्त्रीका लागि एउटा थप बुलेटप्रुफ मर्सिडिज बेन्ज गाडी चाहिने र यसको व्यवस्था हुन नसक्ने भए प्रधानमन्त्री सुरक्षाका कारण आउन नसक्ने जानकारी पठाएको सुनेर बैठक स्तब्ध भयो ।
छजना विशिष्ट पाहुनाका लागि बुलेट प्रुफ तथा उनीहरूका पाँचजना श्रीमती (भुटानका राजाले विवाह गरेको सार्वजनिक भइसकेको थिएन) का लागि सामान्य मर्सिडिज बेन्ज काठमाडाैं ल्याइसकिएको थियो । काठमाडौंमा जगेडा बुलेट प्रुफ मर्सिडिज नभएको कुरा भारतलाई थाहा थियो । तर सम्मेलनको १० दिनअघि आएको भारतको यस्तो सर्तले शिखर सम्मेलन हुने कुरामै प्रश्न खडा भयो । किन भारतले अन्तिम समयमा यस्तो सर्त राख्यो भन्ने कुरामा बैठकमा छलफल भयो । नेपालले शिखर सम्मेलन गर्न नसकोस् भन्ने भारतको मनसाय भएको अथवा श्रीलंकामा भारतको सैनिक हस्तक्षेपको काठमाडौं शिखर सम्मेलनले विरोध गर्न सक्ने सम्भावना टार्न यो निहुँ बनाएको हुन सक्नेजस्ता विश्लेषण र अनुमान पनि बैठकमा गुन्जिए ।
 थप एउटा बुलेट प्रुफ गाडीको अभावले शिखर सम्मेलन रोकिन सक्ने अवस्था बनेपछि बैठकमा सहभागी सबै पिरोलिए । शिखर सम्मेलन सम्पन्न गराउन राजा दृढ भएकाले कसरी तुरुन्तै भारतको चाहनाबमोजिमको गाडी ल्याउन सकिन्छ भन्ने प्रश्नमा छलफल भयो । बाटोको दूरीले आठ दिनभित्र जर्मनीबाट गाडी आउनै नसक्ने सबैको भनाइ रह्यो । यसको दुष्परिणामले शिखर सम्मेलन नै हुन नसक्नेे अवस्था बन्यो ।
मैले सोधें, 'अन्य छवटा मर्सिडिजकै रंगको बुलेट प्रुफ कार के जर्मनीमा तुरुन्तै किन्न पाइन्छ ?' मेरो कुरा सुनेर बैठकमा प्रश्न गरियो, 'पाइयो भने पनि जर्मनीबाट आठ दिनमा नेपाल कसरी ल्याउने ?' तर सबैको कुरा सुन्ने अपार धैर्य भएका राजाबाट मलाई आफ्नो कुरा प्रस्ट गर्न भनियो । मैले भनें, 'बोनमा भएको हाम्रो दूतावासलाई चाहिएको जस्तो मर्सिडिज किन्ने निर्देशन अहिले नै पठाउँ । जर्मनीबाट काठमाडौं ल्याउने जिम्मा मेरो भयो ।' मेरो कुरा राजाबाहेक अरू कसैले पनि पत्याएनन् । राजाद्वारा बोनस्थित राजदूतलाई निर्देशन पठाउन र मसँग समन्वय गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएपछि बैठक सकियो । म राजदरबारबाट सोझै पर्यटन मन्त्रालय गएर जर्मनीमा लुफथान्साको कार्यकारी निर्देशकसँग टेलिफोनमा कुरा गराउन आफ्नो निजी सचिव सूर्य भण्डारीलाई अह्राएँ ।
काठमाडाैं-फ्याङ्र्फटबीच सिधा हवाईसेवा सुरु भइसकेको थियो । जर्मनीबाट समयमै बुलेटप्रुफ मर्सिडिज काठमाडाैं ल्याउन सक्ने मेरो आँटको पछाडि ठोस आधार थियो । जर्मन राजदूत कार्ल केम्प्फले मसित भेट्न आग्रह गरिरहनुभएको थियो तर व्यस्त भएकाले समय मिलाउन सकेको थिइनँ । ०४४ वैशाख ५ गते समय दिएँ । राजदूत बोनबाट आएका लुफथान्साका कार्यकारी निर्देशकलाई लिएर आउनुभयो । दुवैजना निकै तनावमा थिए ।
उहाँहरूले बताएअनुसार काठमाडौं-फ्याङ्र्फटबीच लुफथान्साको नियमित सेवा सुरु गर्नेबारे केही महिनाअघि नै अधिकारी स्तरमा भएको समझदारीबमोजिम अन्तर्राष्ट्रिय प्रचारलगायत सम्पूर्ण प्रबन्ध गरेर टिकटसमेत बेचिसकेपछि काठमाडौंले सम्झौतामा सही गर्न अस्वीकार गरेछ । सेवा सुरु हुन नसके आफनो अन्तर्राष्ट्रिय विश्वसनियतामा आँच आउने कारण लुफथान्सा चिन्तित भएको थियो भने आफनो कार्यकालमा काठमाडौं र फयाङर्फटबीच सोझो हवाई सम्पर्क जोड्ने प्रयास अन्तिम अवस्थामा नेपालको कारण अवरुद्ध हुन थालेकामा जर्मन राजदूत निराश भएका थिए ।
[  Presidents of Bangladesh, the Maldives and Sri Lanka, the prime ministers of India and Pakistan, and the kings of Bhutan and Nepal on occasion of 4th SAARC summit in  Islamabad on December 31,1988]

यी दुई जर्मनहरूले बताएअनुसार नेपाली अधिकारीले लुफथान्सासँग 'अविवेकी एवम् अत्युक्तिपूर्ण माग' गरेका थिए । उनीहरूलाई भोलि आउन समय दिएर मैले पर्यटन सचिव, हवाई विभागका महानिर्देशक र शाही नेपाल वायुसेवा निगमका महाप्रबन्धकलाई तत्काल बोलाएँ । सम्झौता गर्न समय लाग्नेबाहेक उनीहरूको अरू कुनै तर्क थिएन । यसैले हवाईसेवा सुरु गर्न शानेवानि र लुफथान्साबीच गरिने सम्झौतापत्र तयार पारेर अर्को दिन ल्याउन लगाएँ ।
भोलिपल्ट दुवै जर्मनहरू मेरो अफिसमा आए, पर्यटन सचिवले विमान अवतरण गर्ने अनुमतिपत्र राजदूतलाई र शानेवानिका महाप्रबन्धकले दुवै वायुसेवा मिलेर नियमित हवाईसेवा सुरु गर्ने सहमतिको पत्र लुफथान्साका कार्यकारी निर्देशकलाई दिए । २४ घन्टाभित्रै आफनो सबै चिन्ता हटेकामा दुवै जर्मनहरू खुसी भए । राजदूतकै अगाडि लुफथान्साका कार्यकारी निर्देशकले आफ्नो वायुसेवाको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई गम्भीर संकट भोग्नबाट बचाएकामा कृतज्ञता व्यक्त गर्दै 'मन्त्रीज्यूका लागि जे पनि गर्ने' वचन दिए । मैले सार्क शिखर सम्मेलनमा आएको अवरोध हटाउन लुफथान्साको यही वचन उपयोग गर्ने निधो गरेको थिएँ ।

बोनमा राजदूतले कालो रङको बुलेट प्रुफ मर्सिडिज बेन्ज किनेको जानकारी आयो । लुथान्साका अधिकारीसँग मेरो टेलिफोनमा कुरा भयो । मलाई दिएको वचन उनले बिर्सिएका रहेनछन् । फ्याङ्कर्फट विमानस्थलमा गाडी दूतावासले पुर्‍याउने र लुफथान्साको नियमित उडानबाट काठमाडौं ल्याउने समझदारी भयो । यसैअनुसार बुलेट प्रुफ मर्सिडिज आयो, तर त्यसलाई विमानबाट झिक्ने साधन भने काठमाडौंमा थिएन । यो अवरोध हटाउन थाइ एयरले बैंककबाट विशेष साधन पठाएर सहयोग गर्‍यो । नेपालमा हुन थालेको पहिलो क्षेत्रीय शिखर सम्मेलन सामुन्ने भारतद्वारा खडा गरिएको अवरोध हट्यो । 
शब्द साभार इकारन्तिपुर >>  पुरै पढ्नुहोस्